ब्रेकअप चर्चाबीच आनाको फिल्ममा सुशान्तको गीत !

काठमाडौं । अभिनेत्री आना शर्मा र गायक सुशान्त केसीको ब्रेकअप चर्चाबीच सिनेमा ‘रमिताको पिरती’को सुशान्तको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । सुशान्तले रिलिजको चौथो दिनमा ‘तिम्रै छेउमा’ बोलको गीत सार्वजनिक गरेका हुन् । सुशान्तको स्वर तथा संगीत रहेको गीत फेसबुक र इन्स्टामा सार्वजनिक गरेका हुन् ।
केही समयअघि आना र सुशान्तले एक अर्कालाई इन्स्टामा अनफलो गरेको समाचार आएका थिए । योसँगै दुवैको सम्बन्ध अन्त्य भएको हल्ला चलेका थिए । तर आनाको मुख्य भूमिका रहेको सिनेमामा सुशान्तले गीत दिनुले उनीहरुबीचको सम्बन्ध हार्दिक रहेको संकेत गर्छ । यति मात्र होइन, सुशान्तले सिनेमा ‘रमिताको पिरती’ राम्रो बनेको प्रतिक्रिया दिँदै आनालाई इन्स्टा पोस्टमा शुभकामना पनि दिएका थिए ।
सार्वजनिक गीतमा धिरज मगर र आनाबीचका दृश्यहरु समेटिएका छन् । गीतले दुवैबिचका हार्दिक क्षणहरुलाई कैद गरेको देख्न सकिन्छ ।
शुक्रबारदेखि प्रदर्शन थालेको सिनेमाले दर्शक बढाउँदै गरेको निर्माता सागर लम्सालले जनाएका छन् । उनले शनिबारदेखि सिनेमाले दर्शक र प्रतिक्रिया दुवै राम्रो पाउँदै गएको बताए ।
सुदिप्ताको लेखन तथा निर्देशन रहेको सिनेमाले रमिता नामकी युवतीको सम्बन्धका आयामहरुको कथा प्रस्तुत गर्छ । सिनेमाको लेखन/निर्देशनसँगै अभिनय पक्षको तारिफ भइरहेको छ ।
-सिपी जैसीको सहयोगमा






