पूर्व मिस नेपालहरू अंगाल्दै ८ वर्षपछि निर्देशनमा फर्किइन् रेखा

काठमाडौं । नयाँ नेपाली कथानक चलचित्र ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा गरिएको छ । आइतबार महाशिवरात्रीको अवसर पारेर राजधानीमा एक विशेष कार्यक्रमकाबीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।
यो चलचित्रमार्फत नेपाली सिनेमा क्षेत्रकी प्रभावशाली अभिनेत्री रेखा थापा लामो समयको अन्तरालपछि पुनः निर्देशनमा फर्किएकी छन् ।
‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता चलचित्र निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय प्रयास हो । झण्डै आठ वर्षपछि निर्देशनमा फर्किएकी रेखाले यसपटक आफ्नै ‘रेखा फिल्मस्’ भन्दा बाहिरको ब्यानरमा काम गर्न लागेकी हुन् । नेपाली चलचित्र इतिहासमा कुनै पनि स्थापित महिला निर्देशकले बाहिरी ब्यानरको चलचित्र निर्देशन गर्न लागेको यो सम्भवतः पहिलो पटक हो ।
‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुने यस चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारहरूको जम्बो टोली रहनेछ ।
चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका रहनेछ ।
निर्माण पक्षले चलचित्रको घोषणसँगै दुईवटा फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखिएको पहिलो पोस्टरले चलचित्रमा प्रेमका विभिन्न पाटाहरू वा सम्भावित ‘प्रेम त्रिकोण’ को कथा हुनसक्ने अनुमान गर्न सकिन्छ ।
पोस्टरमा तीनै अभिनेत्रीहरू रातो रङको भब्य पहिरन (लेहेंगा र सारी) मा सजिएका छन् । रातो रङले प्रेम, विवाह र सम्बन्धको गहिराइलाई संकेत गर्छ । जसमा दिल श्रेष्ठ र नम्रता श्रेष्ठको सामिप्यता झल्किएको छ भने सृष्टि र नीति शाहका भावहरू अलि गम्भीर देखिन्छन् । यसले चलचित्रमा प्रेमका विभिन्न पाटाहरू, सम्बन्धमा आउने उतारचढाव वा सम्भावित ‘लभ ट्रयाङ्गल’ (प्रेम त्रिकोण) को कथा हुन सक्ने संकेत गर्छ।






