Logo

‘रमिताको पिरती’ भारत रिलिज पक्का

काठमाडौं । नेपाली पर्दामा प्रर्शनरत चलचित्र ‘रमिताको पिरती’ अब भारतमा पनि रिलिज हुने भएको छ । इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्टले चलचित्रलाई मार्चको दोस्रो सातादेखि भारतका हलमा देखाउने अधिकार लिएको छ ।

कम्पनीले आफूहरु भारतको रिलिजका लागि निर्माताको रुपमा जोडिएको जनाउँदै ‘रमिताको पिरती’ को कथा र प्रस्तुति भारतका युवा दर्शकले पनि रुचाउने विश्वासका साथ रिलिजका लागि जुटेको बताएका छन् । निर्माता सागर लम्साल र इन्फिनिटीका बीच हालै ‘रमिताको पिरती’भारतमा रिलिज गर्ने सम्झौता सम्पन्न भएको हो ।

‘रमिताको पिरती’ले अहिलेको युवा युवतीको प्रेम, बिछोड र आत्ममन्थनको विषयलाई रोचक शैलीमा प्रस्तुत गरेको छ । नेपालमा दोस्रो हप्तामा प्रवेश गरेको चलचित्रले यथार्थपरक कथा वाचन र आफैँले आफूलाई माया गर्नुपर्छ भन्ने सन्देशका लागि युवा दर्शकबाट प्रेरक प्रतिक्रियाहरु प्राप्त गरिरहेको छ ।

सहकार्यलाई लिएर इन्फिनिटीका प्रतिनिधिले भने,‘रमिताको पिरतीले आजको युवाको प्रेम जीवनलाई दुरुस्त देखाएको छ जुन भारतका दर्शकले पनि मजाले रिलेट गर्न सक्छन् । राम्रो फिल्म धेरैभन्दा धेरै दर्शकसम्म पुग्न पनि जरुरी छ । हामी यो फिल्मलाई धेरै दर्शकसम्म पुर्याउँछौँ ।’

अहिले रिलिजका लागि भारतका हलसँग कुराकानी भइरहेको र चाँडै भारतका कुन कुन ठाउँमा कहिलेदेखि लाग्ने भन्ने जानकारी सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । सुदिप्ताको निर्देशनमा बनेको ‘रमिताको पिरती’मा आना शर्माको मुख्य भूमिका रहेको छ । चलचित्रमा विनय श्रेष्ठ, धिरज मगर, समिर श्रेष्ठ, रेनु योगी आदि कलाकारको अभिनय रहेको छ ।

Comments