रोशनी फिचर्ड ‘लालिमा’ पोस्टरले के संकेत गर्छ ?

काठमाडौं । यहि फागुन २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले अभिनेत्री रोशनी कार्कीलाई एकल फिचर्ड गरी शुक्रबार नयाँ पोस्टर सार्वजनिक गरेको हो ।
रोशनी एकल फिचर्ड पोस्टरले दर्शकमा फिल्मप्रति कौतुहलता सिर्जना गर्ने दाबी फिल्मका निर्देशक तथा लेखक रोशन मिराजको छ । पोस्टरमा समस्यामा जेलिएकी रोशनीलाई आत्माविश्वासी, सहनशील र शान्त देखाइएको छ । माथिल्लो शरीरमा कपडा नलगाएकी उनी झ्यालबाट कोठाभित्र छिरेको प्रकाशमा छिन् । पोस्टरले उनी यौनकर्मीको चरित्रमा रहेको संकेत गर्छ ।
यो फिल्ममा रोशनी र जीवन भट्टराई प्रमुख अभिनयमा छन् भने उनीहरुसँगै फिल्ममा उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सविन कट्टेल र शिशिर वाङ्देल मुख्ष भूमिकामा छन् ।
तीन हजार यौनकर्मीको अनुभव, संघर्ष र भोगाइमा आधारितमा रहेर यो फिल्म तयार भएको निर्माण पक्षको दाबी छ ।






