Logo

जनकपुरमा ‘दोस्रो अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ जारी

जनकपुर । नेपाली सभ्यता र संस्कृतिलाई विश्वमाझ पुर्याउने उद्देश्यसहित गत वर्षबाट जनकपुरमा आयोजना थालिएको जनकपुर अन्तर्राष्ट्रिय फिल्म महोत्सवको दोस्रो संस्करण यतिबेला जारी छ । गत शुक्रबार उद्घाटन भएको ‘दोस्रो जनकपुर अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ संवाद फाउण्डेसनको आयोजनामा यहि सोमबार अर्थात फागुन ११ गतेसम्म चल्नेछ ।

जनकपुरस्थित मैथिली भवनमा चलिरहेको महोत्सवमा मैथिली, नेपालीसहित विदेशी भाषाका गरि कुल ६० फिल्म प्रदर्शनको क्रममा छन्, साथै समूहगत छलफललगायत विविध गतिविधि हुने महोत्सवका अध्यक्ष कुमार भास्करले जानकारी दिए ।

‘जनकपुरले मिथिलाञ्चललाई प्रतिनिधित्व गर्छ, महोत्सवले यसलाई उजागर गर्नेछ । हामी हाम्रो सभ्यता र संस्कृति विश्वलाई देखाउन र बुझाउन चाहन्छौँ’, उनले भने ।

नेपाली फिल्मको अन्तर्राष्ट्रिय, युवा फिल्मकर्मीलाई उत्प्रेरित गर्ने र सांस्कृतिक विविधताको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष भास्करको भनाइ छ ।

महोत्सवको उद्घाटन समारोहमा राजर्षिजनक विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवले फिल्म क्षेत्रमा आफ्नो भविष्य देख्नेहरूका लागि महोत्सवले गन्तव्य दिने बताए । ‘हामीले आफ्नो पाठ्यक्रममा फिल्मलाई समेटेर यसप्रति रुचि राख्नेहरूलाई शिक्षा दिने विषयमा छलफल गरिरहेका छौँ । यस्ता महोत्सवले नेपालमा बनेका फिल्मसँगै विश्वभर बनिरहेका फिल्मबारे जानकारी दिन्छ’, उनले भने ।

यस्तै, चलचित्र समीक्षक समाजका अध्यक्ष समीप्याराज तिमल्सेनाले उपत्यकाबाहिर हुने महोत्सवले बजार प्रवर्द्धनमा सघाउने बताए । ‘तराईमा फिल्मका राम्रो दर्शक छन् र यहाँ फिल्म भवनको सङ्ख्या पनि राम्रो छ, तर स्वदेशी फिल्ममा ती दर्शक आकर्षित गर्न सकेका छैनौँ। यस्ता महोत्सवले मैथिली तथा अन्य स्वदेशी भाषाका फिल्मप्रति स्थानीय दर्शकलाई आकर्षित गर्छ’, उनले भने ।

Comments