‘पाँच पाण्डव’ सेटमा इभा गिरी !

काठमाडौं। ठूलो लगानी र नाम चलेका कलाकारहरूको जमघटका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ । छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले चलचित्रको कलाकार टोलीमा थप दुई पात्रहरूलाई भित्र्याएको छ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीको प्रवेश भएको हो ।
छायांकनको १४ औं दिनमा उनीहरू सेटमा जोडिएसँगै चलचित्रको क्यानभास अझ फराकिलो बनेको निर्देशक वसन्त निरौलाले जानकारी दिए ।
गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको यस चलचित्रमा नेपाली सिने जगत्का दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूको समिश्रण छ ।
चलचित्रका मुख्य ‘पाँच पाण्डव’ को भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहेका छन् । यी पाँच पात्रहरूलाई केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र रजनी गुरुङ देखिनेछन् ।
चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै पौराणिक वा धार्मिक कथा नभई पूर्ण रूपमा ‘सोसल ड्रामा’ (सामाजिक कथा) भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन् । चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।


