‘परालको आगो’मा भैंसी कुट्दा प्रकाश सपुतलाई हैरानी !

काठमाडौं । पछिल्ला फिल्मको कमर्सियल सफलतामा सन्तुष्ट हुन नसकेका अभिनेता तथा गायक प्रकाश कमिङ रिलिज ‘परालको आगो’को एक महत्वपूर्ण हिस्सेदार हुन् । जहाँ पात्र चामेको भुमिका निभाउँदा उनी यो फिल्मबाट निकै आशावादी गरेको बताउँछन्।
फिल्मको ट्रेलरमा प्रकाश सपुतको अभिनय क्षमता निकै बलियो देखिन्छ। अरु भन्दा फरक कथामा अभिनय गरेका उनले कहिले श्रीमतीलाई माया गर्ने तर श्रीमती माइत जाँदा भैंसीमाथी पोखिएको रिसको कुरा सुनाए। त्यो आफुले नगरेको र रिस पोख्न नजान्दा सहकर्मी तथा अभिनेत्री सुहाना थापाले सिकाएको बताए।
‘मैले भैंसी कुट्नुपर्ने सिन थियो,तर मैले कुट्न सकिरहेको थिइनँ,’उनले फिल्मको सुटिङ गर्दाको क्षण सम्झदै भने,‘सिनमा पनि आओस् र भैंसीलाई पनि केहि नहोस् भनेर कसरी काम गर्न सकिन्छ भन्ने कुरामा अलिक छटपटी भएको थियो। त्यो कुरा सुहानाले सिकाउनु भयो।’
उनी भन्छन्,‘परालको आगो’ भन्ने बित्तिकै श्रीमान श्रीमतीको झगडाकै कुरा आउँछ।’ यही शुक्रबार अर्थात बैशाख ११ गतेबाट रिलिज हुन लागेको यस फिल्ममा प्रकाशका अलवा सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा लगानी सुशील पोखरेलको छ। साथै फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्। लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने सम्पादन मिलन श्रेष्ठको छ।







