विजय र सनिशा स्टारर डार्क कमेडी ‘जिरो डिग्री’ इण्डक्ल्याप, दशैं पहिले रिलिज

काठमाडौं । मेघौली फिल्मस्’को ब्यानरमा निर्माण भइरहेको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। कास्कीको धिताल गाउँमा कलाकारद्वय राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम टेक लिँदै सोमबार चलचित्रको ‘प्याकअप’ गरिएको हो।
३५ दिनको छायांकन तालिका तय गरेर पोखराको अर्मलाकोट मन्दिरबाट क्यामेरा रोल गरेको निर्माण टोलीले ३७ दिन लगाएर सुटिङ पूरा गरेको छ। चलचित्रको सम्पूर्ण छायांकन पोखरा वरपरका रमणीय तथा मौलिक बस्तीहरू अर्मलाकोट, धिताल, घार्मी र बगरमा गरिएको छ।
सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको यस चलचित्रमा अभिनेता विजय बराललाई दर्शकले अहिलेसम्मकै फरक र नदेखेको अवतारमा देख्न पाउनेछन्। यद्यपि, निर्देशक बरालले उनको चरित्रको बारेमा भने खुलाउन चाहेनन्। “विजय सर र हामी दुई जना निर्देशकको कोल्याबोरेसन सबैभन्दा बेस्ट रह्यो,” उनले भने।
सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूमा यस चलचित्रको कथा घुमेको छ। छायांकनमा जानुअघि नै चलचित्रको व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक गरिएको थियो।
चलचित्रमा विजय बरालका साथै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायतको बलियो अभिनय लाइनअप रहेको छ। मोती कार्की कार्यकारी निर्माता रहेको यस चलचित्रलाई निशाल पौडेलले खिचेका हुन्।
चलचित्रमा चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन, अङ्कित बाबु अधिकारीको सङ्गीत र युवराज काफ्लेको शब्द रचना रहेको छ। रोयल भिमसेन तथा ट्राइडेन्ट कन्सेप्ट टिमले पब्लिसिटी डिजाइन गर्ने यो चलचित्रलाई काठमाडौं उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले वितरण गर्नेछन्। चलचित्रको रिलिज यस वर्षको वडा दसैँ भन्दा अगावै हुने निर्देशक बरालले बताए।







