‘१२ गाउँ २’मा भित्रिए प्रकाश, विराजसँग दोस्रो सहकार्य

काठमाडौं । विराज भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘१२ गाउँ’को सिक्वेल ‘१२ गाउँ २’मा अभिनेता प्रकाश शाह अनुबन्ध भएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै विराजले प्रकाश आफ्नो चलचित्रमा अनुबन्ध भएको खुलाएका हुन् ।
‘प्रकाश शाहजीसँग साङ्लोपछिको दोस्रो सहकार्य १२ गाउँ २ मा’ विराजले सामाजिक सञ्जालमा लेखेका छन् । खलपात्रको भुमिकामा रुचाइएका प्रकाश यो फिल्ममा कुन भुमिकामा देखिँदैछन् खुलाइएको छैन ।
यसअघि विराज र प्रकाशले फिल्म ‘साङ्लो’मा सहकार्य गरेका थिए । उक्त फिल्ममा प्रकाश भिलेन अबतारमा प्रस्तुत थिए । यतिबेला फिल्म ‘मुक्तिपुर’को छायांकनको लागि नेपालगञ्जमा रहेका शाहले विराज र विराज पुत्र अभिनेता समिर भट्टसँगको सहकार्यको लागि उत्साहित रहेको बताए । ‘विराज दाइ आफैंमा लिजेण्डरी कलाकार हो, त्यसमा उदयीमान अभिनेता समिर जी हुनुहुन्छ, यो सहकार्यले नेपाली चलचित्र क्षेत्रमा केहि न केहि नयाँ खुराक दिनेनै छ’, शाहले भने ।
यो फिल्ममा यसअघि अर्का अभिनेता अनुपविक्रम शाही पनि अनुबन्धित भइसकेका छन् । विराज भट्टकै कथामा बन्ने फिल्म आगामी दशैंमा रिलिज हुने बताइएको छ । तर छायांकन भने प्रारम्भ भइसकेको छैन । अन्य कलाकारहरू सार्वजनिक गर्ने चरणमा निर्माण टिम छ ।







