दयाहाङ र सौगात स्टारर ‘मितज्यू’ विदेशमा उच्च मागः ६ देशमा प्रदर्शन अधिकार बिक्री

काठमाडौं । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मितज्यू’ विदेशका विभिन्न शहरमा प्रदर्शन हुने पक्का भएको छ । निर्माण टिमले हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा फिल्मको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएको हो।
निर्माता जनक घर्ती मगरका अनुसार ‘मितज्यू’को हङकङ प्रदर्शन अधिकार पाथिभरा इन्टरटेनमेन्टले खरिद गरेको छ। त्यस्तै जापानका लागि वाउ इन्टरटेनमेन्ट, साउथ कोरियाका लागि नेपाल मगर संघ, माल्टाका लागि नेप फाइभ इन्टरटेनमेन्ट र पोल्याण्डका लागि सोल्टी इभेन्टले अधिकार किनेका छन्।
उनले अन्य देशहरूसँग पनि प्रदर्शनका लागि छलफल भइरहेको जानकारी दिए। हालसम्म यी ६ देशमा भने प्रदर्शन अधिकार बिक्री भइसकेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा दर्शकमाझ यसको कौतुहलता बढ्दो छ। फिल्ममा सौगात मल्ल, दयाहाङ राई र अन्तर्राष्ट्रिय रूपमा चर्चित नृत्यांगना तेरिया फौजा मगरको अभिनय रहेको छ।
ग्रामीण परिवेशमा आधारित यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्म आगामी जेठ ८ बाट नेपालमा प्रदर्शनमा आउँदैछ ।









