Logo

कन्फर्मः ‘नाइ नभन्नु ल ५’ भर्सेज अनमोलको ‘क्याप्टेन’ भिडन्त पक्का

पछिल्लो समयमा फ्लोरमा जानु पुर्व नै फिल्महरुको रिलिज मिति तय गर्ने होडबाजीको क्रम नेपाली सिने वृत्तमा चलिरहेको छ । ठुला मानिने ब्यानरहरु सकभर आफ्नो मितिमा अन्य फिल्मले डेट नलिउन भन्नकै लागी भएपनि निर्माण पुर्व नै रिलिज डेट फाइनल गर्दै आएका छन् । तर आगामी भदौमा भने दुई ठुला ब्यानरले एकसाथ एकै मितिमा रिलिज घोषणा गरेका छन् ।

मंगलबार मात्रै ‘नाइ नभन्नु ल’ सिरिजको पाचौँ संस्करणको कास्ट एण्ड क्रियू सार्वजनिक सँगै रिलिज घोषणा गरियो । आगामी भदौ ८ लाई ‘नाइ नभन्नु ल ५’ फिल्मको रिलिज कन्फर्म हुँदै गर्दा उक्त मितिमा यसअघि नै घोषणा गरिएको स्टार अभिनेता अनमोल केसीको ‘क्याप्टेन’सँग भिडन्त पक्का भएको छ ।

समाचारको पुष्टि गर्दै ‘क्याप्टेन’ निर्देशक दिवाकर भट्टराईले भने, ‘हामीले निर्माण घोषणाको समयमा नै भदौ ८ लाई रिलिज मिति लक गरेका हौँ, अघि पछिको कुरा छैन्, फिल्म तोकिएकै मितिमा रिलिज हुन्छ ।’ भट्टराईको यो कुरापछि अन्ततः उल्लेखित दुई फिल्म एक आपसमा भिड्ने पक्का देखिएको छ । ‘नाइ नभन्नु ल ५’ लाई वितरणको अधिकार समेत एफडी कम्पनिले लिईसकेको छ भने भदौ ८ लाई रिलिज क्यालेन्डर लक गरिसकेको छ ।

‘नाई नभन्नु ल’ नेपालमा सर्वाधिक ब्राण्ड भ्याल्यू भएको सिरिज हो । यो सिरिजका अहिलेसम्म रिलिज चार वटै फिल्म हिट लिस्टमा छन् । दर्शकको मन जितिसकेका छन् जसका कारण पाँचौं नम्बरको फिल्म पनि दर्शकको लागी अवेटेड सुचीमा पर्नसक्छ । उता अनमोल केसी पछिल्लो क्रममा स्टारडम बिक्ने नेपालका एक मात्र स्टार हुन् । त्यसैले पनि एकै मितिमा रिलिज हुँदा यी दुई फिल्मको भिडन्त रोमाञ्चक हुनसक्छ । संभवतः बर्ष २०७५ कै सर्वाधिक ठुलो क्लास लडाईँ यो हुनसक्छ।

अनमोलसँगै उपासना सिंह ठकुरी लिड अभिनयमा रहने फिल्म आगामी चैत्र २५ बाट फ्लोरमा जाने समेत भट्टराईले जानकारी गराए । इलाम, झापा र काठमाडौंमा खिचिने फिल्ममा संगीत अर्जुन पोखरेलले भर्नेछन् । निर्माता अनमोल पीता भुवन केसी हुन् । फिल्ममा सरोज खनालको पनि महत्वपुर्ण भुमिका रहने भट्टराइले फिल्मीनेपालसँगको कुराकानीमा बताए ।

उता विकासराज आचार्यको निर्देशन रहने ्नाइ नभन्नु ल ५’मा  प्रियंका कार्की, अनुभव रेग्मी, दीलिप रायमाझी, स्वस्तिमा खड्का लगायत लिड अभिनयमा पक्का भइसकेको छ । चैत्र १ लाई यो फिल्म फ्लोरमा जाने मिति तय गरिएको छ ।

Comments