‘तिम्रो मेरो साथ’ लिएर फ्लोरमा साम्राज्ञी र पुष्प
अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहने फिल्म ‘तिम्रो मेरो साथ’ फ्लोरमा गएको छ । सोमबारबाट निर्माण टिमले फिल्मको छायांकन प्रारम्भ गरेको हो ।

गत हप्ता मात्रै यसअघि घोषणा गरिएको ‘रेड वाइन’ बाट नाम परिवर्तन गरी ‘तिम्रो मेरो साथ’ बनेको यो फिल्मको छायांकन काठमाडौं र अमेरिकाका विभिन्न शहरमा गरिनेछ । हाल काठमाडौंमा छायांकन सुरु भएको छ ।
प्रेमकथामा आधारित फिल्मलाई रमेश एमके पौडेलले निर्देशन गर्दैछन् । फिल्मको कथा पनि एमके को नै हो भने पटकथा र संवाद सबिर श्रेष्ठको छ । फिल्ममा निर्देशक पौडेललसँग लगानीमा पासाङ लामाले साझेदारी गरेका छन् ।
आर्यन फिल्मस् तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने यो फिल्ममा सह–निर्मातामा निरु भण्डारी, सुमन पौडेल, सुधीर पराजुली छन् ।
तश्विरः दि सिनेमा टाइम्स







