रामजीको निर्देशनमा यस्तो बन्यो सर्ट मुभी ‘एक लभर’ |भिडियो
‘राम्रो इन्टरटेन्मेन्टको ब्यानरमा तयार सर्ट मुभी ‘एक लभर’ सार्वजनिक भएको छ ।फिल्म नेपालको वर्तमान सामाजिक परिघटनामा मध्यनजर गरेर तयार पारिएको छ ।

नेपालका युवायुवतीहरुको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको विषयलाई फिल्मले उठान गरेको छ । रामजी ज्ञवालीको निर्देशन र दुर्गाप्रसाद ज्ञवालीको निमार्णमा तयार भएको ‘एक लभर’ आधा घण्टा लामो छ ।फिल्ममा प्रेम, विछोड, रोदन मात्रै देखाइएको छैन, चलचित्रलाई निर्देशक ज्ञवालीले सुखद् अन्त्य गरिदिएका छन् ।
प्रेमीलाई भेट्न अस्टेलिया जान खोजेकी एक युवतीले नेपालका एक धनाढ्य युवालाई प्रेमको नाटक गरी लाखौं खर्च गराएर जब अष्ट्रेलिया पुग्छे, त्यसपछि उसले नेपालका प्रेमीलाई एकाएक छोडिदिन्छे । तर, एक वर्षपछि जब ती युवती नेपाल फर्किएर पुराना प्रेमी खोज्दै आउँछे, त्यसबेला पहिलाका प्रेमीले बिहे गरेर अर्कै जिवन बाँचिरहेका हुन्छन् ।
निर्देशक ज्ञवालीका अनुसार यस्तो खालको घटना नेपाली समाजमा निरन्तर घटिरहेको छ । त्यसैलाई आधार मानेर चलचित्र निर्माण गरिएको हो । चलचित्र निर्माणका लागि निर्माता दुर्गा प्रसाद ज्ञवालीले १० लाख लगानी गरेका छन् । उनले भने, ‘हामीले सुनेको तर देख्न नपाएका यस्ता धेरै पात्र छन्, जसले कुनै न कुनै सन्देश दिन्छन् ।’
निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखनमा तयारी चलचित्रमा अभिनेता शाहिल खान, अभिनेत्री अनुपमा भण्डारी, कलाकारहरु राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय रहेको छ । यो छोटो फिल्मलाई संकल्प भुजेलले खिचेका हुन् भने शाहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।
https://youtu.be/sbZttytLKvk







