Logo

‘कृष्ण लीला’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री

दिपक वली निर्देशित फिल्म ‘कृष्ण लीला’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । प्रदर्शनको मिति नजिकिँदै जाँदा सार्वजनिक गीत तथा प्रचार सामाग्रीहरूले चर्चा बढाएरहेको फिल्मको हालै अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको हो । निकेश मानन्धरले अधिकार खरिद गरेका हुन् ।

आगामी भदौ ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको प्रदर्शन अधिकार सम्झौता पत्रमा निकेशका प्रतिनिधि र ‘कृष्ण लीला’ टिमबीच बुधबार राजधानीमा हस्ताक्षर भएको हो । फिल्मले ट्रेलर र गीतबाट एक प्रकारको हाइप बनाइसक्दा निर्माण टिम हाल प्रचारको अन्तिम दौडधुपमा केन्द्रीत छ ।

फिल्ममा समावेश दुई गीत ‘त्यो कथामा एउटा राजा एउटी रानी’ र ‘ए मेरो हजुर’ सामाजिक सञ्जालमा चर्चामा छन् भने लाखौं टिकटक प्रयोगकर्ताले यी गीतहरूमा टिकटक निर्माण गरेका छन् । कृष्ण जन्माष्टमीको दिन प्रदर्शनमा आउने फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ,रविन्द्र झा, भावना गुरुङ,नवीन रेग्मी,हिउँवाला गौतम,आयुषा क्षेत्री तथा बाल कलाकार आयुष गुरागाईँ मुख्य अभिनयमा छन् ।

आरआर फिल्मस् को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मलाई लक्ष्मण सुवेदीले लेखेका हुन् । शिव ढकालले खिचेको फिल्ममा अर्जुन जिसीको सम्पादन छ ।

Loading...
Comments