Logo

कृष्णजन्माष्टमीमा मल्टिप्लेक्स: फ्रेस नेपाली फिल्ममाथी बासी विदेशी फिल्मको वर्चस्व

कृष्णजन्माष्टमीको अबसरमा शुक्रबारबाट तीन नेपाली फिल्म एकसाथ प्रतिस्पर्धामा उत्रिएका छन् । फिल्म हुन्: ‘कृष्ण लीला’, ‘माईकल अधिकारी’ र ‘प्रेमगन्ज’ । शुक्रबार परेको एक दिने विदा छोप्दै तीन फिल्म प्रतिस्पर्धामा आउँदा देशका ठुला मल्टिप्लेक्सहरूमा नेपाली फिल्मलाई भन्दा विदेशी फिल्मलाई नै प्राथमिकता दिईएको छ ।

देशको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले फ्रेस रिलिज नेपाली फिल्मलाई भन्दा झण्डै दोब्बर शोज अघिल्लो हप्ता रिलिज ‘लालसिंह चड्डा’लाई दिएको छ । जहाँकी ‘लालसिंह चड्डा’को भारतमा खस्किँदो व्यापारसँगै नेपालमा पनि वितरकले खरिद गरेको लगानी नउठ्ने निश्चित भइसकेको छ । दर्शकको आकर्षण निकै कम छ । तर पनि दोस्रो हप्तामा समेत क्युएफएक्सले यो फिल्मलाई १८ शोज दिएको छ । बिग सिनेमाले ४ शोज र एफक्यूबले २ शोज दिएका छन् ।

तीन नेपाली फिल्ममा प्राथमिकतामा ‘माईकल अधिकारी’ परेको छ । यो फिल्मले क्युएफएक्समा १० शोज, बिग सिनेमामा २ शोज र एफक्युवमा ३ शोज पाएको छ । यस्तै ‘कृष्ण लीला’ले क्युएफएक्समा ५ शोज, बिग सिनेमामा २ शोज र एफक्युवमा २ शोज पाएको छ भने ‘प्रेमगन्ज’ले क्युएफएक्समा ६ शोज, बिग सिनेमामा १ शो र एफक्युवमा पनि १ शो मात्रै पाएको छ ।

उता शुक्रबार नै रिलिज हुन लागेको बलिउड फिल्म ‘कार्तिकेय’लाई भने क्युएफएक्सले १८ शोज उपलब्ध गराएको छ । उक्त फिल्मलाई बिग सिनेमा र एफक्यूबले समान ४-४ शोज दिएका छन् । देशका ठुला मल्टिप्लेक्समा तीन वटा नेपाली फिल्म एकसाथ रिलिज हुँदा पनि तीन फिल्मले पाएको शोज भन्दा झण्डै दोब्बर शोज वलिउड फिल्मले पाएका छन् । अघिल्लो हप्ता रिलिज वलिउड फिल्म ‘रक्षाबन्धन’ समेत राम्रो स्थानमा छ ।

नेपालमा मल्टिप्लेक्स हलहरूले स्वदेशी फिल्मलाई प्राथमिकता नदिएको भन्ने बहस बारम्बार हुँदै आएता पनि गुणस्तर हेरेर मात्रै स्थान दिने वाणी मल्टिप्लेक्सहरूले बोल्दै आएका छन् । तर उल्लेखित हलहरूमा फिल्मको क्वालिटी भन्दा पनि कलाकारहरूको अनुहार हेरेर शोज बाँडफाँड गर्दै आइएका उदाहरण छन् ।

विदेशी फिल्मलाई नेपालमा खरिद गर्दा हल सञ्चालकहरूकै लगानी पर्नु या नियमित फिल्म उपलब्ध गराउने वितरकहरूले लगानी गर्दाको प्रभाव शोज वितरणमा स्पष्ट देखिँदै आएको छ । फ्रेस रिलिज नेपाली फिल्मलाई भन्दा फ्लप सुचीमा परिसकेको ‘बासी’ विदेशी फिल्मलाई प्राथमिकता दिईएकोमा सम्वन्धित मेकरहरू भने चिन्तित सुनिन्छन् ।

Loading...
Comments