Logo

विकास बोर्डको तीन दिने लेखन र निर्देशन कार्यशाला सम्पन्न

काठमाडौँ।
चलचित्र विकास बोर्डले भारतीय फिल्ममेकर अनुपम बर्वेको साथमा आयोजना गरेको तीन दिने चलचित्रको पटकथा लेखन र निर्देशन बिषयक कार्यशाला सम्पन्न भएको छ । आइतबार बोर्डको हलमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै कार्यशाला समापन गरिएको हो । चैत्र ३ देखि ५ सम्म सञ्चालित कार्यशालामा ४८ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । पामे फिल्म फेस्टिभलले कार्यशाला व्यवस्थापन गरेको थियो ।

विभिन्न पुरस्कारहरू विजेता भारतीय फिल्ममेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)का एसोसिएट प्रोफेसर बर्वेले आफुले नेपालमा केहि अनुभवि तथा केहि नयाँ फिल्ममेकरहरूसँग तीन दिन बिताउन पाएकोमा खुशी व्यक्त गरे । उनि भन्छन्ः “मैले भिन्न वातावरणमा फरक अनुभुति गरेको छु । मलाई नेपाल बोलाएर यस कार्यशालाको प्रशिक्षक बन्ने मौका दिएकोमा म चलचित्र विकास बोर्डलाई धन्यवाद दिन चाहन्छु । प्रशिक्षार्थीहरुले मसँग बाँड्नुभएका कथा र कथाका शैलिहरु मेरो लागि पनि निकै नयाँ थिए र मैले पनि सिक्ने अवसर पाएँ ।”

प्रशिक्षार्थीको रुपमा सहभागि नेपाली चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले यो कार्यशालामा भाग लिन निकै उत्साह जागेर तीन दिनसम्म लगातार बसेको बताए । “हामी फिल्ममेकरहरूले कहिल्यै पनि सिक्ने अवसरलाई छोड्नु हुँदैन । म अन्य सहभागीहरु भन्दा सिनियर भएतापनि मैले सँगै बसेर सिक्न कुनै अप्ठेरो महशुस गरिन ।” आफ्नो समयमा यस प्रकारले ज्ञान प्राप्त गर्ने कुनै ठाउँ र अवसर पनि नभएको समयमा चलचित्र निर्देशन गरेको बताउँदै देउजाले बौद्धमा भिडियो हेरेको भरमा चलचित्र बनाउन थालेको स्मरण गरे ।

बोर्ड अध्यक्ष भुवन केसीले सफल चलचित्र निर्माणमा संलग्न हुन पटकथा लेखन तथा निर्देशनमा गहिरो ज्ञान हुनु आवश्यक रहेकोले सोहि उद्देश्यसहित यो कार्यशालाको आयोजना गरिएको बताए । “स्क्रिप्टिङ, कास्टिङ, निर्देशन, र पोस्ट-प्रडक्शनसम्मको अवधारणाको विकासदेखि लिएर, यो कार्यशालाले फिल्म निर्माणका सबै पक्षहरूलाई समेटेको छ”, उनले भने, “हामी विश्वास गर्छौं कि यस कार्यशालाबाट प्राप्त अन्तरदृष्टि र ज्ञानले महत्वाकांक्षी फिल्ममेकरहरूलाई मनोरञ्जन मात्र होइन, विचार-उत्तेजक र सामाजिक रूपमा सान्दर्भिक फिल्महरू सिर्जना गर्न सक्षम रहन मद्दत पुगेको छ ।”

Comments