Logo

फेब्रुअरीमा जापान र कोरियामा ‘हात्तीछाप’ !

काठमाडौं । माघको २६ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘हात्तीछाप’ निर्माण टिमले यतिबेला प्रचार प्रसार थालनीको क्रममा छ । इन्टरनेट र हलमा दुई फरक टिजर सार्वजनिक गरेको फिल्मलाई ‘दिमाग खराब’पछि हलमा नपुगेका नेपाली दर्शकलाई फर्काउने चुनौती पनि छ ।

स्टारकास्टले भरिपूर्ण फिल्म देश विदेशमा प्रतिक्षित बन्दै जाँदा विभिन्न देशको प्रदर्शन मिति समेत तय भइरहेका छन् । यो बीचमा यो फिल्मलाई फ्रेबुअरी ९ तारिखबाट जापान र दक्षिण कोरियामा रिलिज गर्ने तयारी गरिएको छ । फिल्मको जापान र कोरिया वितरणको जिम्मा टिम यूएनएले लिएको छ । यूएनए इन्टरटेन्मेन्ट यतिबेला फिल्मको प्रचारमा व्यस्त छ ।

टिम यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाँइले ‘फिल्मको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतिक्षा गरिरहनुभएको छ, यसले हामीलाई अझै उत्साहित बनाएको छ ।’

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वेनिशा हमाल, बिजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

Comments