‘रमिताको पिरती’ फर्स्टलुक रिलिज, प्रदर्शन मिति घोषणा

फिल्म ‘रमिताको पिरती’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्म माघको २३ गतेबाट रिलिजमा आउने छ ।

बुधबार ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । यो फिल्ममा अभिनेत्री आना शर्मा मुख्य भूमिकामा छिन् । उनको साथमा फिल्ममा अभिनेताद्वय धिरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ । यही फिल्मबाट गायक समीर श्रेष्ठ फिल्मको पर्दामा नायकको रुपमा उदाउँदैछन् ।
महिला केन्द्रित यो फिल्मको फर्स्टलुकमा नायिका आना शर्माका विभिन्न लुक्स देख्न सकिन्छ । फिल्ममा उनी ‘रमी’ पात्रको भूमिकामा छिन् । उनीसँग जोडिएका पात्र र उनको कथाको वरिपरी यो फिल्म बनेको छ ।
आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यो फिल्ममा आर.पी प्रोडक्सन एसोसियट निर्माताको रुपमा छ । फिल्मका निर्माता सागर लम्साल हुन् । फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।
शिशिर विशांखेको डीओपी रहेको फिल्ममा सुनिल सिवाकोटीको सम्पादन, कपिल पराजुलीको कलर, कातिक बरालको कोरियोग्राफी छ । यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।






