Logo

के हो ‘बिटी कान्छा’को हरामी ? यस्तो छ शीर्ष गीत

काठमाडौं । ‘बिटी कान्छा’ को उपनामले परिचित कमेडियन विश्वास तिमल्सेनाको लेखन तथा निर्देशन रहेको सिरिज ‘हरामी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । हरी, राहुल र मिलन नामका तीन चरित्रको पहिलो अक्षरमा आधारित भई नामांकन गरिएको ‘हरामी’ ले सोही बोलको प्रमोसनल गीत सार्वजनिक गरेको हो । मन प्रोडक्सनले निर्माण गरेको उक्त सिरिजको सार्वजनिक गीतमा शब्द, संगीत र गायन साइलाको रहेको छ । संगीत निर्माण समिरन राणाले गरेका हुन् ।

आफ्नो युट्युब च्यानलमार्फत् नेपाली चलचित्रको रमाइलो समीक्षा गर्दै आएका बिटी कान्छा अर्थात् विश्वास पछिल्लो समय ‘कमेडी दरबार’मा पनि देखिँदै आएका छन् । ‘कमेडी दरबार’ भित्र विभिन्न भूमिकामा देखिने बिटी कान्छाले सिरिजमा पनि विभिन्न विषयलाई प्रस्तुत गर्ने जमर्को गरेका छन् । सिरिजको प्रसारण भइसकेको पहिलो भागमा उनले साथीहरुको दबाबले लिने निर्णयलाई हास्य रसमा प्रस्तुत गरेका छन् । प्रडक्सन क्वालिटी र प्रस्तुतिका कारणले सिरिजको पहिलो भागले राम्रै दर्शकसँगै उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

‘हामीले प्रसारित पहिलो भागबाट राम्रो समीक्षा पाएका छौँ । कुल पाँच भागको एपिसोड रहने सिरिजमा फरक फरक थिममा रहेर एपिसोड तयार गरेका छौँ’, बिटी कान्छाले भने ।

उनले हरेक हप्ता चलचित्र क्षेत्रका चर्चित नाम सिरिजमा देखिने जानकारी गराएका छन् । तीन साथीको वरिपरि केन्द्रित रहेको सिरिजमा निकुन श्रेष्ठ, ऋषिकेष बस्याल र सशांक बोहरा मुख्य भूमिकामा छन् । उनीहरूसँगै सिरिजमा घनुभाइ जोशी, रक्षा थापा, गौमाया गुरुङ, प्रीतिशा अधिकारी आदिको भूमिका रहेको छ ।

Comments