‘बिगुल’मा जेन-जी आन्दोलनको मर्म र विकृत राजनीतिको भण्डाफोर |हेर्नुहोस् ट्रेलर

काठमाडौं । नेपाली समाजको यथार्थ,राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको फिल्म ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ। रमेश कोइराला निर्देशित ‘बिगुल’ को तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी,सामाजिक न्याय,पारिवारिक उल्झन,पुस्ताबीच बिचारको मतभेद,जिम्मेवारी तथा निमुखा जनतामाथि राजनैतिक नेतृत्वले गर्दै आएको खेलबाडको बिषय प्रस्तुत गरिएको छ ।
देश र जनतालाई पटक पटक धोका दिँदै आएको राजनीतिक नेतृत्व र अन्यायको विरुद्ध आवाज उठाउने नयाँ पुस्ताको टकराव केन्द्रीत ‘बिगुल’ले देशमा आसन्न आम निर्वाचनको सन्दर्भमा जनमानसमा सही नेतृत्व चयन गर्न मार्ग निर्देश गर्नुपर्ने सन्देश दिन खोजेको देखिन्छ । ट्रेलरमा अभिनेत्री वेनिशा हमाल,अभिनेता नरेन खड्का,विनोद न्यौपानेहरुले युवा पुस्ताको भावना सम्प्रेषित गरेका छन् ।
दिनेश कोइरालाको कथा र निर्माण,कल्पना पौडेलको प्रस्तुति अनि सूर्य कान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेका फिल्ममा बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने,सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह,हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जेएन घिमिरे, गीता अधिकारी,मानश्री शर्माका साथमा रविन्द्र खड्का विशेष भूमिकामा अभिनीत छन् भने नवनायिकाका रुपमा मिरा पण्डितले डेब्यू गरेकी छिन् ।
माघ ९ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने फिल्म शिव ढकालले खिचेका हुन् । तारा थापा ‘किम्भे’ ले सम्पादन गरेको फिल्मका गीतमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ ।






