Logo

झापाबाट फ्लोरमा ‘पाँच पाण्डव’, हरिवंशदेखि बलेसम्म छन् कलाकार

काठमाडौं । काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु भएको छ । सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट चलचित्रको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो ।

क्यामेरा पूजा गर्दै छायांकन थालिएको चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहनेछन् । यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन् । ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन् ।

चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित सिनेमा भने होइन । निर्माण पक्षका अनुसार यो पूर्ण रूपमा एक ‘सोसल ड्रामा’ (सामाजिक कथा) हो । चलचित्रमा महाभारतका पाँच पाण्डवको बिम्बलाई प्रयोग गर्दै समकालीन समाजको कथा भन्न खोजिएको छ ।

निर्माणपक्षले दिएको जानकारी अनुसार चलचित्रभित्र महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहने छन् । 

चलचित्रलाई वसन्त निरौलाले निर्देशन गर्दैछन् । नेपाली फिल्म क्षेत्रमा सफल पटकथा लेखकको पहिचान बनाएका सुशील पौडेलले यसको कथा, पटकथा तथा संवाद लेखेका हुन् । पौडेल यसअघि समीक्षक र दर्शक दुवैले रुचाएको चर्चित फिल्म ‘प्रसाद’का लेखक हुन्, जसका कारण ‘पाँच पाण्डव’को कथावस्तु पनि बलियो हुने अपेक्षा गरिएको छ ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् । हरिवंश आचार्यलगायत रुचाइएका र अग्रज कलाकार रहेकाले चलचित्रको बजेट उच्च रहने र निर्माणमा बजेटका कारण कुनै कम्प्रमाइज हुन नदिने प्रस्तुतकर्ता श्रेष्ठले बताए ।

यो चलचित्रलाई श्याम तामाङले खिच्ने छन् । करिब ४० दिनको छायाकंन तालिका तय गरिएको अधिकांश दृश्य झापा मै खिचिने निर्माण टिमले जानकारी दिएको छ ।

Comments