Logo

‘लुट’देखि ‘मितज्यू’सम्मः सौगात र दयाहाङको हिट सहकार्य

काठमाडौं । चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शन हुँदा नेपाली सिनेमाका दुई लोकप्रिय अभिनेता दयाहाङ राई र सौगात मल्ल सँगै देखिनेछन् । यी दुई अभिनेता आफैँमा सिनेमामा मात्रै होइन, सिनेमा बाहिर पनि दर्शकमा रुचाइएका कलाकार हुन् ।

त्यसैले यी दुई अभिनेता नेपाली सिनेमाका सदाबहार अभिनेता हुन् । सौगात र दयाहाङ सर्वाधिक धेरै सिनेमा खेल्ने कलाकारमध्ये हुन् । दर्शकको मायाकै कारण यी कलाकार मेकरको रोजाइमा पर्छन् । जसका कारण धेरै सिनेमामा मुख्य भूमिकामा देखिरहन्छन् ।

यी दुई कलाकार फेरि एकपटक सँगै देखिँदैछन् । चलचित्र ‘मितज्यू’मा सौगात र दयाहाङले सँगै काम गरेका छन् । प्राय सिनेमामा हिरो र हिरोइले सँगै काम गरे भने अनस्क्रिन जोडी भनिन्छ । तर, सौगात र दयाहाङको जोडीलाई पनि चलचित्रमा सफल जोडी मान्न सकिन्छ । किनकी यी दुईले सँगै काम गरेका केही चलचित्र बक्सअफिसमा पनि सफल छन् ।

‘लुट’बाट सुरु भएको यो जोडीले हालसम्म थुप्रै सिनेमामा सँगै काम गरेका छन् । त्यसमध्ये ‘कबड्डी’ पनि सफल जोडी हो । ‘लुट’ र ‘कबड्डी’ जस्तै अब ‘मितज्यू’ सफल हुनेमा यसको निर्माण टिम ढुक्क छ ।

चलचित्र ‘मितज्यू’मा सौगात र दयाहाङबीच नोकझोक देखिएको छ । ‘मितज्यू’को पोस्टर र टिजरमा यी दुई कलाकार आमनेसामने हुन्छन् ।

सँगै पनि रहने तर मिल्न पनि नसक्ने चरित्रमा उनीहरू यो सिनेमा देखिएका छन् । यी दुई कलाकारबीच ‘लुट’ र ‘कबड्डी’मा पनि द्वन्द्व देखिएको थियो । दर्शकले सौगात र दयाहाङलाई आपसी नोकझोकमा रुचाएको इतिहास छ । ‘मितज्यू’मा पनि उनीहरू आपसी द्वन्द्वमा फसेको जस्तो टिजरमा देखिएको छ । उनीहरुको यो भूमिकालाई दर्शकले रुचाउनेमा निर्माण टिम ढुक्क देखिएको छ ।

“हाम्रो सिनेमामा जसरी द्वन्द्व सिर्जना गरिएको छ, यसमा दयाहाङ र सौगातको जुन खालको चरित्र छ, यसमा दर्शकले पक्कै पनि इन्टरटेन गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,” निर्माता जनक घर्ती मगर भन्छन्, “सौगात र दयाहाङले सँगै काम गरेका सिनेमा मध्ये यो दर्शकले सम्झना गर्नलायक चलचित्र बन्नेछ ।”

अनिल बुढा मगरको निर्देशन रहेको ‘मितज्यू’लाई जनक घर्ती मगरले निर्माण गरेका छन् । यो चलचित्रमा सौगात र दयाहाङसँगै तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत कलाकारको अभिनय रहेको छ । तेरियाको यो डेब्यु सिनेमा हो ।

लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन रहेको चलचित्रमा श्रीकृष्ण बम मल्लको संगीत छ । आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।

Comments