‘मितज्यू’मा तेरियाको डबल सरप्राइज !

काठमाडौं । चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । दर्शक र बजारको मनोविज्ञानलाई बुझेर निर्माण टिमले समाजको सांस्कृतिक पक्षसँगै मनोरञ्जनको पनि आवश्यकतालाई बुझेर नृत्यमा पारंगत कलाकारलाई पनि समेटेको छ । आफ्नो नृत्य कौशलले पूरै भारत र नेपालमा परिचित तेरिया मगर यो चलचित्रमा छिन् ।
तेरिया ‘मितज्यू’को मुख्य भूमिकामध्ये एकमा यो चलचित्रमा देखिँदैछिन् । उनी आफैँ सिनेमाको मुख्य पात्र भएपछि उनको नृत्य दर्शकले हेर्न त पाउने नै छन् । सँगै उनको अभिनय क्षमता पनि दर्शकले पहिलोपटक अनुभव गर्न पाउनेछन् ।
गत वर्ष बक्सअफिसमा हिट सिनेमा (घर ज्वाइँ) दिएका निर्देशक अनिल बुढा मगरको चलचित्र ‘मितज्यू’ मा तेरियासँगै दिग्गज अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राई छन्, जो आमनेसामने भएको देख्न सकिनेछ ।
सौगात, दयाहाङ र तेरियासँगै यो चलचित्रमा खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ ।
जनक घर्ती मगरले निर्माण गरेको चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । शिशिर बिशंखेको सिनेमेटोग्राफी रहेको छ । नेपाली ग्रामीण परिवेशको कथा ‘‘मितज्यू’ले भन्ने भएकाले दर्शकले मन पराउनेमा निर्माण टिम विश्वस्त देखिन्छ ।









