युवा प्रेमकथा बोकेको ‘कुमारी’ दर्शकमाझ, कस्तो छ ओपनिङ ?

काठमाडौं । शुक्रबारबाट प्रेम कथानक चलचित्र ‘कुमारी’ देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र प्रेमिल चाड भ्यालेन्टाइनको छेकोमा दर्शकमाझ आएको हो ।
करिब २ सय शोसहित हल प्रवेश गरेको ‘कुमारी’ले बक्स अफिसमा ठुलो ओपनिङ गर्ने अपेक्षा निर्माण टिमको छ । पहिलो दिनको सुरुवाती शोजहरूमा दर्शक उपस्थिति सुखद छ ।
प्रेम कथानक चलचित्र निर्देशनमा माहिर मानिने निर्देशक दिनेश राउतले यस चलचित्रको निर्देशन गरेका हुन्। चलचित्रमा प्रेम, मानवीय सङ्घर्ष र पारिवारिक अन्तर्द्वन्द्वको कथालाई कलात्मक ढङ्गले चित्रण गरिएको छ। यसै चलचित्रमार्फत अविषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै पर्दामा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
महेन्द्र अधिकारीले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता केदार भुसाल हुन्। चलचित्रको प्राविधिक पक्ष पनि बलियो रहेको दाबी गरिएको छ। विकास सुवेदीको लेखन रहेको ‘कुमारी’ मा सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ। रोयल भीमसेनले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेको यो चलचित्रले मौलिक कथा वाचनमार्फत दर्शकको मन जित्ने निर्माण पक्षको विश्वास छ।






