Logo

‘हली’ पोस्टर रिलिज, प्रदर्शन मिति घोषणा 

काठमाडौं। ओम प्रतीकको निर्देशनमा निर्माण भएको चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार चलचित्रका दुईवटा आधिकारिक पोस्टरहरू सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। 

पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु रिसाहा स्वभावमा देखिएका छन्। उनीहरुबीचको सम्बन्धमा खटपट परेपछिको अवस्था पोस्टरमा देख्न सकिन्छ। पोस्टरले फिल्मको कथामा हुने एउटा घटनालाई प्रस्तुत गरेको छ। अर्को पोस्टरले नारी वेदना बोकेको देखिन्छ ।

 जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा  भएको यस चलचित्रको कथा वास्तविक जीवनका घटनाहरूबाट प्रेरित रहेको र यसले समाज एवं देशमा परिवर्तन ल्याउनका लागि एक जना हली नै काफी हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्ने निर्माण पक्षले जनाएको छ। 

अघिल्लो वर्ष व्यावसायिक रूपमा सफल चलचित्र ‘मोहर’ निर्देशन गरिसकेका ओम प्रतीक यस पटक पनि आफ्नो कथावस्तुप्रति पूर्ण रूपमा विश्वस्त देखिएका छन्। यस चलचित्रलाई निर्देशक प्रतिक आफैले लेखेका हुन्। 

व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको यस चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक आफैले पनि मुख्य भूमिकामा अभिनय गरेका छन्। 

चलचित्रको विशेष आकर्षणको रूपमा एउटा प्रमोशनल गीत समावेश गरिएको छ। जसमा नेपालका चर्चित शीर्ष कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुति दिएका छन्, जसको कोरियोग्राफी स्थापित कोरियोग्राफर कविराज गहतराजले गरेका छन् ।

Comments