फ्लपको बाटोमा ‘कुमारी’, सुपरहिट हो पल स्टारर ‘आ बाट आमा’ ?

काठमाडौं । ‘मेरो करियरको टर्निङ पोइन्ट हो यो फिल्म, चलेन भने जीवनमै फिल्म बनाउन्न’, गत माघ १६ गते आफ्नो फिल्म ‘आ बाट आमा’ प्रदर्शन पूर्व निर्देशक चन्द्र पन्त अनामनगरमा यसै भन्दै थिए । नभन्दै फिल्मले अपेक्षित विजनेस निरन्तर जारी राखेको छ ।
चलचित्र विकास बोर्डको तथ्याङ्कमा दुई हप्ताभरीमा फिल्मले गत शनिबारसम्म ८ करोड ३१ लाख माथिको कमाइ गरिसकेको छ । निर्देशक पन्तका अनुसार त्यसयता फिल्मले साढे ९ करोड माथिको विजनेस गरिसकेको छ ।
१ करोड ६० लाख लागतमा निर्माण भएको दाबी सहित ‘आ बाट आमा’ सुपरहिट भइसकेको भनाइ पन्तको छ । हुन पनि उक्त लागतमा निर्मित फिल्मले गरेको यो कमाइ सुपरहिट नै हुन आउँछ ।
आमा छोराको प्रेममा आधारित यो फिल्ममा पल शाह, सिम्रन पन्त, उषा उप्रेती, विपना थापा र वलिउड स्टार गजनी प्रमुख अभिनयमा छन् । फिल्मले यो हप्ताभरिमा १० करोडको ग्रस माइलस्टोन पार गर्दै अघि बढ्ने संकेत देखाएको छ, १२ करोड माथि कमाइ गर्दा यो फिल्म ‘शत्रुगते’लाई उछिन्दै पल शाहको करियरको सर्वाधिक कलेक्सन गर्ने फिल्मको अग्र पङ्ग्तिमा आउनेछ ।
‘कुमारी’
युवावस्थाको प्रेमकथालाई फरक शैलीले पस्किएको भनिएको फिल्म ‘कुमारी’ गत शुक्रबाटबाट दोस्रो हप्ताको प्रदर्शनमा छ । विकास बोर्डको रेकर्डमा यो फिल्मले पहिलो साता जम्मा ५६ लाखको कमाइ गरेको छ । यो विजनेस निर्माण टिमको अपेक्षा विपरित हो । दोस्रो हप्ताको विजनेस पनि सुखद छैन ।
३ करोडमाथिको लागतमा निर्माण भएको दिनेश राउत निर्देशित यो फिल्मले नेपाली हलहरूबाट लगानी सुरक्षित गर्ने बाटोबाटै लगभग बाहिरिएको छ । नेपालमा राम्रो विजनेस नहुँदा यसको प्रभाव डायस्पोरा मार्केटमा पनि देखिँदै आएको छ, त्यसैले विदेश प्रदर्शनबाट पनि यो फिल्मले ठुलो रकम नेपाल भित्र्याउने संभावना न्युन छ ।
महेन्द्र अधिकारी निर्माता रहेको यो फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायतको अभिनय छ । विकास सुवेदीको लेखन र सुशन प्रजापतिको छायाङ्कन रहेको फिल्मका कार्यकारी निर्माता केदार भुसाल हुन् ।






