Logo

भारतमा ‘जेरी अन टप’, गान्तोक प्रिमियरलाई सिक्किम पुगे अनमोल

काठमाडौं । स्टार अभिनेता अनमोल केसीको करियरकै सर्वाधिक विजनेस गर्न सफल नेपाली फिल्म ‘जेरी अन टप’ भारतभर प्रदर्शनमा आउने भएको छ । भारतमा रहेका सिनेमाप्रेमीहरू तथा नेपाली समुदाय तथा नेपाली भाषी दर्शकलाई लक्षित गर्दै फिल्म फेब्रुअरी २७ यहि शुक्रबारदेखि भारतका विभिन्न शहरहरूमा एकसाथ रिलिज हुन लागेको निर्माण पक्षले बताएको छ ।

फिल्म दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिङपोङ, सिलिगुरी र कोलकातासहित नेपाली भाषी दर्शकको उल्लेख्य बसोबास रहेका अन्य विभिन्न ठाउँमा वक्सअफिस रिलिज हुनेछ । फिल्मको लागि भारतका विभिन्न सिनेमा चेनहरूले अग्रीम वुकिङ खुला गरिसकेका छन् । 

रिलिजको पूर्वसन्ध्यामा फेब्रुअरी २६ मा गान्तोकमा प्रिमियर शो आयोजना गरिएको छ। उक्त प्रिमियरमा अभिनेता अनमोल केसी, अभिनेता भुवन केसी, अभिनेत्री जसिता गुरुङसहित फिल्मका कास्ट एण्ड क्रू सहभागी हुँदैछन् भने कार्यक्रममा चर्चित गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाको विशेष प्रस्तुतिसहितको उपस्थिति रहने निर्माता सरोज न्यौपानेले बताए । फिल्म युनिट यतिबेला सिक्किम पुगिसकेको छ ।

सगरमाथा आरोहणको साहसिक कथामा निर्माण भएको ‘जेरी अन टप’ ले प्रेम, सम्बन्ध र युवापुस्ताको भावनात्मक यात्रालाई केन्द्रमा राखेको छ। सुयोग गुरुङ फिल्मका निर्देशक हुन् ।

भारतका विभिन्न सहरमा एकसाथ प्रदर्शन हुँदा नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारमा यो फिल्मको रिलिजले अर्थपूर्ण भुमिका खेल्ने अपेक्षा निर्माण टिमको छ । 

गत असोज अन्तिम साता नेपाल तथा अन्य दर्जन बढि देशमा एकसाथ प्रदर्शनमा आएको यो फिल्मले वर्ल्डवाइड १७ करोड माथिको कलेक्सन गरेको थियो । अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गी यो फिल्ममा प्रमुख अभिनयमा छन् । असली प्रोडक्सनले फिल्मको भारत रिलिजको तारतम्य मिलाएको हो ।

Comments