तुलसी घिमिरे निर्देशित ‘पहाड’ गीत रिलिज, छोरी पञ्चमीको डेब्यू |भिडियो

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्री फिचर्ड छन् ।
सार्वजनिक गीतमा निर्देशक तुलसी घिमिरेको शब्द, रञ्जित सिंह गजमेरको सङ्गीत रहेको छ भने यसमा भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ, अश्मिता अधिकारीको स्वर रहेको छ । उक्त गीतमा अभिनेता विपिन कार्कीको र्याप सुन्न सकिन्छ । उक्त गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् ।
निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर फिल्म तयार गरेको बताए । ‘यो विषयलाई फिल्मको माध्यमबाट आम दर्शकसम्म पुर्याउनु पर्छ भन्ने लागेर मैले फिल्म बनाएको हुँ । यसमा मनोरन्जनसँगै एउटा महत्वपूर्ण संदेश पनि छ । यो गीतले पनि त्यसमा केही सङ्केत गरेको छ’, निर्देशक घिमिरेले भने ।
ग्रामीण परिवेशमा छायांकन गरिएको यो गीत नृत्यप्रधान र मिठासपूर्ण लाग्छ । ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता, सहरभन्दा गाउँ उपयुक्त रहेको लगायतका सन्देश गीतमा छ ।
आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।
निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् । फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरेका छन् ।
भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याएकाछन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।





