Logo

‘लभ एण्ड वार’मा समिर भट्टमाथि हेमराजको एक्सन कट, एक्टर सिक्वेलमा प्रदीप कन्फर्म

काठमाडौं । केहि दिन पहिले ‘अडिसन कल’ गरेको निर्माण ब्यानर मुनलाइन मोशन पिक्चर्सले निर्माण गर्ने चलचित्रमा अभिनेता समिर भट्ट प्रमुख भुमिकामा रहने भएका छन् । निर्माण टिमले लगातार दुई चलचित्र निर्माणको तयारी सहित ‘लभ एण्ड वार’ नाममा निर्माण गर्ने एक चलचित्रमा समिरलाई कन्फर्म गरेको हो ।

यस्तै गत वर्ष प्रदर्शनमा आएर व्यवसायिक रूपमा असफलता भेटेको चर्चित अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर टेक वान’को सिक्वेल समेत सोहि ब्यानरमा निर्माण हुने भएको छ । निर्माता थमनकुमार भण्डारीले एकसाथ दुई चलचित्रको काम अघि बढाइएको बताएका छन् । सिक्वेलमा समेत अभिनेता खड्का नै प्रमुख अभिनयमा रहने पक्का भएको छ भने अन्य कलाकारबारे भने हालसम्म निर्माण टिमले सार्वजनिक घोषणा गरेको छैन ।

धेरै कलाकारहरू फ्रेस फेस लिने सोचमा निर्माण टिमले यतिबेला धमाधम छनोटको काम अघि बढाएको छ । अडिसन आह्वान गर्दा इच्छुकहरूको आवेदन बढि परेकोले अझै केहि दिन कलाकार छनोटमा लाग्ने र त्यसपछि प्रि प्रोडक्सनमा जुट्ने तयारीमा निर्माण टिम छ ।

‘लभ एण्ड वार’ र ‘एक्टर टेक २’ दुबै चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्नेछन् । अमेरिका पलायनको चर्चाबीच बिसी पुनः नेपाली चलचित्र निर्देशनमा कमब्याक गर्न लागेका हुन् । ‘होस्टेल’ डेब्यू निर्देशक बिसी लभस्टोरी जनरामा स्थापित नाम हो भने एक्सन र क्राइम जनरामा उनि संघर्ष गरिरहेका छन् ।

उल्लेखित दुबै चलचित्रको हालसम्म फ्लोर र प्रदर्शन मिति तय गरिएको छैन ।

Comments