Logo

फिल्म बन्ने कहिले कहिले, रिलिज घोषणा जहिले !

काठमाडौं । नीता ढुङ्गाना फिल्मस्’को ब्यानरमा निर्माण हुने फिल्म ‘पार्वती’को छायांकन पहिले प्रदर्शन मिति तय गरिएको छ । आगामी चैत २४ गतेबाट छायाँकनमा निस्किने तयारीमा रहँदा निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो ।

फिल्मकी निर्देशक, निर्माता तथा कलाकार नीता ढुङ्गानाले यो फिल्मलाई आगामी भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने बताइन्। ‘हामी यहीँ चैत २४ गतेबाट फिल्मको छायांकनमा निस्किदैछौँ, वितरक तथा सबैसँगको सल्लाह अनुसार फिल्मलाई आगामी भदौ १२ गतेबाट रिलिज गर्ने घोषणा गरेका छौं’, नीताले भनिन् ।

गत साउन महिनामा निर्माण घोषणा गरिएको यो फिल्म सोहि समयमा तयार भएर गत माघ १ गते प्रदर्शनमा आउने निर्माण टिमले बताएको थियो । तर उक्त समयमा तयार नभएको फिल्मको छायांकनको नयाँ तालिकासँगै नयाँ प्रदर्शन मिति घोाणा गरिएको हो । उता नीताकै निर्देशनमा बन्ने घोषणा गरिएको अर्को फिल्म ‘सुख दुःख’को समेत यतिबेला चर्चा हराएको छ ।

यो फिल्ममा नीताका साथमा दीपाश्री निरौला,अशोक दर्जी,सरु विष्ट,राधिका कँडेल,राज पंगेनी शर्मा,राजेन्द्र नेपाली,आशा पौडेल लगायतको अभिनय रहनेछ । निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् ।

सुदिप बरालको डिओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन् । सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन् । उनी पहिलो पटक यस फिल्ममा क्रियटिभ निर्देशकका रुपमा काम गर्न लागेका हुन् । त्यसो त निर्माण घोषणाको समयमा यो फिल्मलाई बलिउड सिनेमाटोग्राफर कविर लाल र शाहिद लालले छायांकन गर्ने चर्चा तियो, अब भने प्राविधिकसहित फिल्मको निर्माण युनिटकै अधिकांश सदस्य परिवर्तन भएका छन् ।

Comments