‘रोल नं १’ पोस्टरः शिक्षाका लागि ग्रामीण परिवारको सपना र संघर्ष

काठमाडौं । चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक स्वरूप पोस्टर सार्वजनिक गरेको हो ।

आगामी वर्षको जेठ १५ गते गणतन्त्र दिवसबाट प्रदर्शनमा आउने चलचित्रका सार्वजनिक दुई पोस्टरमा बाल–कलाकार निर्भिक रेग्मीसँगै मुख्य पात्र अभिनेता मुकुन भुसाल र अभिनेत्री रेणु योगी ग्रामीण परिवेशको पहिरनमा देखिएका छन् । उनीहरूको भेषभुषाले चलचित्र उनीहरूले जीवन जीउनका लागि गरिरहेको संघर्षलाई चित्रण गरेको छ ।
जौन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । विनोद पौडेल र जान्वी पौडेल निर्मातामा रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।
यस चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिव राम श्रेष्ठ रहेका छन् । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।
चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् ।







