हेमराजलाई अनमोलकै सहारा
हेमराज बिसी नेपाली फिल्म उद्योगमा स्थापित नाम हो । सुरुवाती दुई फिल्म नै हिट दिने युवा निर्देशक हेमराज धेरै आशा बोकेका अनि धेरैको नजरमा संभावना बोकेका निर्देशकमा पर्छन् । तर उनै हेमराजलाई बारबार आरोप लाग्दै आएको छ अनमोल केसी बिना चल्न सक्दैनन् भनेर ।
हो, अनमोल केसीलाई हिरोको रुपमा डेब्यू दिएको अनि आफुले निर्देशनमा डेब्यू गरेको फिल्म ‘होस्टेल’ हो । सोहि फिल्म उनले हिट बनाए, आफु पनि चर्चामा आए अनमोललाई स्टार बनाउने कहिँ कतै श्रेय पनि पाए । त्यसपछिका सबै फिल्म हिट दिएका अनमोल यतिबेला नेपालमा स्टारडम बिक्ने एक मात्र अभिनेता पर्छन् ।
‘होस्टेल’ पछि ‘जेरी’ फिल्म पनि अनमोल नै लिएर हेमराजले निर्देशन गरे । त्यो फिल्म पनि हिट बन्यो त्यसपछि हेमराजले ‘सम्बोधन’ निर्देशन गरे फिल्मले आशातित बिजनेस गर्न सकेन् । त्यसपछि ‘गाजलु’ निर्देशन गरे फिल्ममा अनमोल रहँदा फिल्म हिट बन्यो अनि गाईँगुईँ सुरु भयो हेमराज चल्न अनमोल चाहिन्छ । त्यसपछि यो कुरालाई थप प्लस गर्यो उनको पछिल्लो फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ले । यो फिल्मले पनि सोचे अनुसार र चर्चा पाएअनुसारको विजनेस गरेन जुन प्रकारको हाईप थियो सोहि अनुसार दर्शक हलमा नआउँदा हेमराजको आलोचना गर्नेहरुमा थप बल पुग्यो ।
यसपछि रिलिज पछिल्ला दुई फिल्म ‘दी ब्रेकअप’ र ‘घामड शेरे’ पनि दर्शक तान्न असफल भए । चर्चाका दुई नाम निश्चल बस्नेत र स्वस्तिमा खड्का लिएर ‘घामड शेरे’ बनाउँदा पनि दर्शकले नपत्याएपछि अब कुन बाटोमा सफलता छ टर्च बालेर खोज्ने अवस्था हेमराजमाथी आएको छ ।
दुबैले एकसाथ डेब्यू गर्दा हेमराज निर्देशक अनि अनमोल लिड अभिनेता रहँदा अनमोललाई हेमराजले चलाए या अनमोल हेमराजको कारण चले यो बारेमा चर्चा कम हुन्छ । पहिलो फिल्मबाट नै स्टार बनेका अनमोललाई चिनाउने बनाउने श्रेय कहिँकतै हेमराजलाई जानै सक्छ । तर अनमोल नरहेको फिल्म नचल्दा असफलको ट्याग पाउँदा उनको नाममा हुने आलोचनाले पनि सकारात्मक मोड लिँदै गएको छ ।
अनमोललाई डेब्यू दिएका हेमराजले फिल्म ‘ग्याङ्गस्टर ब्लूज’बाट अर्का संभावनावान कलाकार आशिरमान देशराजलाई डेब्यू दिए । तर यो फिल्ममा उनले आशिरमानमा हिरोईज्म जोड्न नसकेको उनमा भएको प्रतिभा निकाल्न नसकेको आरोप पनि खेपे किनकी यो फिल्मका कथा, पटकथा पनि हेमराजकै थियो । तर त्यसपछि उनै आशिरलाई लिएर बनाइएको ‘दी ब्रेकअप’ फ्लप बन्दा कमजोरी हेमराजमाथी नै सोझियो । सामाजिक सञ्जालमा फ्यान फ्लोइङ राम्रो कमाएका आशिरलाई हेर्न हलमा दर्शक आएनन्, उनको फिल्मी करियर नै संकटमा छ ।
त्यसो त पछिल्लो समय धेरै कलाकारहरुले भन्न थालेका छन्, ‘फिल्म हिट दिने जिम्मा हाम्रो हैन, निर्माण टिमले राम्रो कथा रोज्नुपर्यो, हामीले काम राम्रो गर्ने हो ।’ यो कुरामा टेक्दैगर्दा कतै हेमराजले राम्रो स्कृप्ट छान्न सकेनन् या काम राम्रो गर्नमा हेल्चक्रयाइँ गरे भन्ने प्रश्न पनि आउँछ । त्यसैले त सिनेवृत्तमा चर्चा चल्छ हेमराज अनमोलकै सहारामा मात्र चलिरहेछन् ! उल्लेखित सबै कुरा चिर्न अनि खेप्दै आएका आलोचनालाई जवाफ दिन हेमराजले अनमोल बिना कुनै न कुनै फिल्म हिट दिनुको विकल्प छैन् ।