Logo

६० रिलिज, ६ मात्रै हिट !

हरेकजसो शुक्रबार नेपाली सिने नगरीमा नयाँ नयाँ फिल्म रिलिज हुन्छन् । अपवादमा सिंगल रिलिज बाहेक हप्तैपिच्छे भिडन्त हुन्छ दुई देखि पाँच फिल्म सम्मको, तर ती मध्ये मुश्किलले केहि फिल्मले मात्र पानी भन्न पाउँछन् । पछिल्लो दुई बर्षदेखिको अबस्था हेर्ने हो भने नेपालमा फिल्मको बजार राम्रो हुँदै गएको छ । बजार फराकिलो हुँदै गर्दा राम्रा बनेका फिल्मले विजनेस राम्रो गर्दैछन् तर बुझेर नबुझेर बन्ने धेरै फिल्मको लगानी भने वालुवामा पानी बनिरहेको छ ।

यो बर्षको मात्र चर्चा गर्ने हो भने २०७४ सकिन अझै पाँच महिनाजस्तो बाँकी छ । तर बैशाखदेखि कार्तिक आईसक्दा अहिलेसम्म पाँच दर्जन यानेकी ६० बराबर फिल्महरु रिलिज भइसकेका छन् । जहाँ मुश्किलले केहि फिल्मले मात्र लगानी रिकभर गर्न सफल भए, हिट लिस्टमा परे । सात महिना कट्दा सातै महिनाको प्रतिनिधित्व गर्नेगरी सात फिल्मसम्म पनि अहिलेसम्म हिट भएका छैनन् ।

नयाँ बर्षको छेकोमा प्रदर्शनमा आएका तीन फिल्म मध्ये ‘घामपानी’ लगानी उठाएको फिल्ममा पर्छ । त्यसपछि चलेको फिल्म पाउन असार पर्खिनुपर्यो । असार २९ मा रिलिज ‘म यस्तो गीत गाउँछु’ले लगानी सुरक्षित गर्न सफल हुँदा श्रावण १३ मा रिलिज ‘प्रेमगीत २’ ले सोहि प्रकारको बिजनेस गर्यो । युवापुस्ताले मल्टिप्लेक्स तथा सिंगल स्कृनमा यो फिल्मलाई राम्रै साथ दिए ।

त्यसपछि भदौ १६ मा रिलिज ‘ए मेरो हजुर २’ हिट बन्यो । अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाह र नव अभिनेता सलिनमान बानियाँले मात्र बजार तताएनन् डेब्यू निर्देशनमा झरना थापाले तारिफ भेटिन् । त्यसको दुई हप्ता पछि ‘दुई रुपैयाँ’ रिलिज हुँदा उक्त फिल्मले पनि राम्रै विजनेस गर्यो वक्सअफिसमा सफल साबित गर्यो ।

त्यसपछि बडा दशैंको छेकोमा फुलपातीको दिन रिलिज फिल्म ‘छक्का पञ्जा’ सिक्वेलले ‘छक्का पञ्जा’कै शैलीमा बम्पर ओपनिङ गर्यो । यो बर्षको पहिलो सुपटहिट फिल्मको सुचीमा यो फिल्म परेको छ । यतिबेला पनि केहि हलहरुमा यो फिल्म प्रदर्शनरत छ भने गत बिहिबार रिलिज फिल्म ‘ऐश्वर्य’ले पनि दोश्रो हप्तामा दर्शकको राम्रो साथ पाउँदै गर्दा आफुलाई सफल फिल्मको सुचीमा राख्नसक्छ ।

माथी उल्लेखित फिल्मलाई हेर्ने हो भने ६० बरााबर फिल्म रिलिज हुँदा जम्मा ६ वटा फिल्म लगानी उठाउन सफल देखिन्छ । जहाँ ६ फिल्मको समग्र विजनेस हिसाब गर्दा २४ करोडको आसपासमा विजनेस भएको देखिन्छ भने यो बाहेकका फिल्ममा भएको ४० करोड बराबरको लगानी बालुवामा पानी हाले जस्तै बनेको छ ।

यो बीचमा नाम चलेका चर्चित अनि स्टारको उपमा पाएका रेखा थापा, निखिल उप्रेती, सौगात मल्ल, आर्यन सिग्देल जस्ता स्टारहरु जोडिएका धेरै फिल्म रिलिज भए । तर हिजो स्टारडम बनाउन साथ दिएका दर्शकले यो पटक कसैलाई पत्याएनन्, सबैका फिल्म फ्लप सुचीमा परे ।

तश्विर श्रोतः गुगल

Loading...
Comments